
बागलुङ, असार ७ — १२औँ अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।

पतञ्जलि योग समिति बागलुङ, महिला पतञ्जलि योग समिति बागलुङ तथा युवा नेपाल समिति बागलुङको संयुक्त आयोजनामा वृहत् र्यालीसहित योग दिवस मनाइएको हो। कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा रहेका थिए।

सहभागीहरूले नगर क्षेत्रबाट सचेतनामूलक र्याली प्रदर्शन गर्दै ऐश्वर्य पार्क पुगेका थिए। पार्कमा आयोजित कार्यक्रममा योग प्रशिक्षकहरूको नेतृत्वमा सामूहिक योगाभ्यास गरिएको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका नागरिक, योग साधक, सामाजिक अभियन्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

वक्ताहरूले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिँदै नियमित योग अभ्यासले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए उनीहरूले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका तनाव, विभिन्न रोग तथा अस्वस्थ बानीबाट मुक्त हुन योग प्रभावकारी माध्यम भएको उल्लेख गरे।

हरेक वर्ष जुन २१ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बागलुङमा पनि योगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रम योगाभ्यास, स्वास्थ्य सचेतना तथा योगको महत्वबारे जानकारी आदानप्रदान गर्दै सम्पन्न भएको थियो।












