बागलुङ नगरपालिकाद्वारा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

-


     हिड्न खबरदाता     
     जेठ २७ गते २०८३ मा प्रकाशित


बागलुङ, जेठ २७

बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई १५ दिनभित्र संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै मुलुकी देवानी संहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ती जग्गाको संरक्षण स्थानीय तहको जिम्मेवारी भएकाले अतिक्रमण हटाउने अभियानलाई अघि बढाइएको जनाएको छ।

नगरपालिकाका अनुसार नगर क्षेत्रका विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा, पसल, पर्खाल लगायतका संरचना निर्माण गरिएका कारण सवारी आवागमन, सडक सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा समस्या उत्पन्न हुँदै आएको छ।

सूचनामा सरकारी तथा सार्वजनिक जग्गामा निर्माण गरिएका घर, टहरा, पर्खाल, पसल तथा अन्य संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वःस्फूर्त रूपमा हटाई अतिक्रमित जग्गा खाली गर्न अनुरोध गरिएको छ।

नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमण हटाएर जग्गा खाली नगरिए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै नगरपालिकाले आफैं संरचना हटाउने, भत्काउने वा व्यवस्थापन गर्ने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनी शासन कायम गर्न सबै नगरवासीलाई सहयोग गर्न अपिल गरिएको छ।

स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै अभियानलाई थप प्रभावकारी बनाउने संकेत गरेको छ।