
पर्वत, जेठ २०
पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीस्थित पोखरा–बागलुङ सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार अपराह्न करिब ४ बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी ४० वर्षीय हिरा गर्बुजा र पछाडि सवार जलजला गाउँपालिका–७ लस्ती निवासी ४१ वर्षीय सुर्जन भण्डारी गम्भीर घाइते भएका थिए।
दुवैलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएको थियो। उपचारकै क्रममा गर्बुजालाई साँझ ४:४५ बजे र भण्डारीलाई ५:०० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुवैको शव हाल अस्पतालमै राखिएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी ३५ वर्षीय मनोज थापालाई प्रहरीले नियन्त्रणमा लिई ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबरमा समावेश भएको तस्बिर Ai काे सहयोगमा









