
ललितपुर, जेठ २०
विश्व वातावरण दिवस २०८२ को अवसरमा ललितपुर महानगरपालिका वडा नं. ४ को आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

“प्रकृतिबाट प्रेरित : जलवायुका लागि, हाम्रो भविष्यका लागि” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालय, नेप्सेम्याक (NOCEMAC), ललितपुर चक्रपथ महानगर सरसफाइ अभियान, ग्रीन भ्याली ग्रीन नेपाल, स्थानीय नागरिक सरोकार मञ्च नेपाल, वडास्तरीय महिला समिति तथा बागडोल विकास समाजको सहकार्य गरेर कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ।

बागडोल–४ स्थित नख्खु करिडोर क्षेत्रमा आयोजना गरिएकाे वृक्षारोपण कार्यक्रममा ३६० वटा विभिन्न फुलका बिरुवा राेपिएकाे थियो ।

आयोजकका अनुसार वृक्षारोपणमार्फत हरित वातावरण प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणप्रति नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको जनाएको छ।

वृक्षारोपणले यहाँ मर्निङ वाक इभिनिङ वाक गर्ने सर्वसाधारण सबैले यसको संरक्षण गरेमात्र अहिले गरेको काम सार्थक हुने आयोजकले जनाएको छ ।
वडा कार्यालयले वातावरण संरक्षण र हरित शहर निर्माण अभियानमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन भुमिका खेल्ने सराेकारवालाहरूलाइ धन्यवाद दिएको छ ।










