सिटीवान टेलिभिजनद्वारा महिला समृद्धिसम्बन्धी राउण्ड टेबल कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     जेठ १७ गते २०८३ मा प्रकाशित


एक महिला, एक सीप’ अभियान सञ्चालन गर्ने प्रतिबद्धतासिटीवान टेलिभिजनले आयोजना गरेको “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” विषयक राउण्ड टेबल कार्यक्रममा सहभागी जनप्रतिनिधि, मन्त्री तथा सरोकारवालाहरूले ‘एक महिला, एक सीप’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आठौँ राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा कास्कीका सबै स्थानीय तहका उपाध्यक्षहरू तथा गण्डकी प्रदेश सरकारअन्तर्गत महिला मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमाल ले पेशा–व्यवसायमा संलग्न हुन नसकेका गृहिणी महिलाको आर्थिक उत्थान र समृद्धिका लागि चालु वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत विशेष सम्बोधन गरिने जानकारी दिइन्। उनले प्रदेशभित्रका प्रत्येक महिलालाई लक्षित गर्दै ‘एक महिला, एक सीप’ अभियान सञ्चालन गरिने बताइन्।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी अनिशा श्रेष्ठ ले गरेकी थिइन्। कार्यक्रममा मन्त्री रिमालले घरेलु तथा कुटिर उद्योगलाई प्रवर्द्धन गर्दै महिलालाई पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा आबद्ध गराउने विशेष अभियान सञ्चालन गरिने जानकारी दिइन्। साथै, महिलालाई प्राविधिक शिक्षा र रोजगारीसँग जोड्ने योजनालाई प्राथमिकतामा राखिने बताइन्।

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ ले स्थानीय तहमा महिला तथा सामाजिक विकासका कार्यक्रमलाई पर्याप्त प्राथमिकता नदिइएको गुनासो गरिन्। उनले अधिकांश योजना भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको उल्लेख गर्दै महिला सशक्तीकरणका क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखिन्।

दोस्रो कार्यकालका अनुभवका आधारमा महानगरले महिला तथा सामाजिक विकासका क्षेत्रमा फरक ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले महिलाहरू एकजुट भई अधिकार र अवसरका लागि आवाज उठाउनुपर्ने बताइन्। देशको आधा जनसंख्या महिलालाई पछाडि पारेर समृद्धि सम्भव नहुने उनको भनाइ थियो।

पोखरा हस्तकला संघकी अध्यक्ष तथा महिला उद्यमी सीता गुरुङ ले महिला उद्यमीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उद्योग वाणिज्य संघ, स्थानीय तह तथा प्रदेश सरकारले महिला उद्यमशीलताको विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन्। सरकारी तालिमहरू प्रभावकारी अनुगमनको अभावमा रोजगारीसँग जोडिन नसकेको समेत उनको भनाइ थियो।

मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङ ले समान कामको समान ज्यालालाई नीतिगत रूपमै सुनिश्चित गर्नुपर्ने धारणा राखिन्। महिलाको शैक्षिक अवस्था, घरेलु जिम्मेवारी तथा सामाजिक संरचनाका कारण व्यवसायिक महिला उद्यमी उत्पादन गर्न चुनौती रहेको उनले बताइन्।
रूपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ ले महिलालाई उद्यमी बनाउन दीर्घकालीन सोचसहित अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उनले गाउँपालिकाको यस वर्षको बजेट पनि सोही अभियानमा केन्द्रित हुने जानकारी दिइन्।

अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी ले महिलाले गरेका निर्णय र काममा पुरुष हस्तक्षेपका कारण समस्या सिर्जना हुने गरेको बताइन्। घरदेखि समाजसम्म महिलालाई कमजोर ठान्ने प्रवृत्तिको अन्त्यका लागि नीति तथा योजना निर्माणमा विशेष ध्यान दिनुपर्ने उनको धारणा थियो।

गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल ले कास्कीमा महिला उद्यमशीलताको अवस्था मध्यम स्तरमा मात्र रहेको बताइन्। महिलामाथि हुने घरेलु तथा शारीरिक हिंसा न्यूनीकरणका लागि शिक्षा, चेतना, कानुनी कार्यान्वयन र समानतामूलक अभियानलाई टोलस्तरबाटै सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। संघ, प्रदेश र स्थानीय तहले समान रूपमा महिला क्षेत्रमा लगानी नगरेसम्म महिलामार्फत समृद्धिको अपेक्षा गर्न नसकिने उनको भनाइ थियो।

यस वर्षको आठौँ राष्ट्रिय महिला दिवस को नारा “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” रहेको छ।

गण्डकी प्रदेशमा हाल २१ हजार ५ सय ५५ महिला उद्यमी रहेका छन्। तीमध्ये ७८ हजार ३ सय ३७ जनाले रोजगारी प्राप्त गरेका छन्।