
-स्थानीय निर्वाचन उपयाेग र बहिष्कारले पार्टी बिभाजन
काठमाडौँ अन्ततः स्थानीय तहको निर्वाचन लाई उपयाेग गर्ने र नगर्ने बिषयमा एकरूपता नहुदा नेपाल कम्युनिस्ट पार्टी बिभाजन भएको छ । नेकपाको बहुमत पक्षले विप्लवलाई महासचिव पदबाट हटाएर नेतृत्व परिवर्तन गरेको छ ।
बुधबारदेखि चितवनमा सुरु भएको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन ‘ पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।
भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले हिडन खबर लाई बताउनुभयाे । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई जिम्मेवारी दिइएको लोहनीले बताउनुभयाे ।
‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ लोहनीले भने, ‘हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक कञ्चन सरलाई बनायौ ।’
पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले बताए । ३ दिनसम्म चल्ने सुदर्शन कञ्चन पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।
शिबगढीमा बसेको पार्टीको १२ औ केन्द्रीय समिति बैठकले पार्टी चुनावमा नजाने र कसैलाई सघाउनै परे स्वच्छ छवी भएका व्यक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो। तर विप्लव र प्रकाण्ड आफै उक्त निर्णयको बिरुद्व गएर भकाभक केन्द्रीय सदस्यहरुलाई चुनावमा उठाएपछि पार्टी फुटको संघारमा पुगेको थियो ।
यस बिषयमा नेताहरु कञ्नर र सुदर्शनले ध्यानाकर्षण गराएपछि विप्लवले उल्टै यी २ नेताहरुमाथि कारवाही गरेर पार्टी औपचिरिक रुपमा फुटेको उद्घोष गरेका थिए । त्यसपछि बहुमत नेकपा केन्द्रीय सदस्यहरुले भेला बोलाएका थिए ।









