
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सडक पेटी तथा फुटपाथ व्यवस्थापनका क्रममा एक महिलामाथि नगर प्रहरीले गरेको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जेठ ५ गते साँझ वीरेन्द्रनगर नगरपालिका–६ स्थित सिटी बसपार्क क्षेत्रमा डाला राखेर काफल बिक्री गर्दै आएकी महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो।
नगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने जनाएको छ। साथै, पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत द्वारा जारी विज्ञप्तिमा घटनाप्रति नगरपालिका गम्भीर रहेको जनाइएको छ।














