
बागलुङ, जेठ १२ — जिल्ला प्रहरी कार्यालय बागलुङले कारागार कार्यालय कास्कीबाट फरार भएका एक प्रतिवादीलाई पुनः पक्राउ गरेको जनाएको छ।
सम्मानित बागलुङ जिल्ला अदालतको आदेशअनुसार चोरी मुद्दामा ३ वर्ष १ महिना कैद र रु. ३० हजार जरिवाना सजाय भई कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका बागलुङ नगरपालिका–७ का ३४ वर्षीय मितु किसान भनिने सुरेश बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको Gen-Z आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार भएपछि उनले बागलुङ नगरपालिका–२ शिवधाराचोकस्थित खुदुक बहादुर खत्रीको पसलबाट Samsung कम्पनीको SM-A166P/DS मोडेलको मोबाइल चोरी गरी फरार भएको आरोप छ।
उक्त घटनापछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो। यसै क्रममा उनलाई पुनः पक्राउ गरी चोरी मुद्दामा सम्मानित बागलुङ जिल्ला अदालतबाट थप पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।













