“Friday for Future” अन्तर्गत दुईदिने सहजीकरण कार्यशाला सुरु

-


     रामप्रसाद घिमिरे     
     जेठ १ गते २०८३ मा प्रकाशित


बागलुङ, जेठ १

“Friday for Future” कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ मा आधारित दुईदिने सहजीकरण कार्यशाला बागलुङमा सुरु भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा जेठ १ र २ गते जिल्ला समन्वय समिति बागलुङको सभाहलमा कार्यशाला सञ्चालन गरिएको हो।

कार्यशालामा विभिन्न स्थानीय तह, विद्यालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा “Friday for Future” कार्यक्रमलाई विद्यालय तथा समुदायस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सहजीकरण गरिएको थियो।

सहभागीहरूले बालबालिकामा सिर्जनशीलता, नेतृत्व विकास, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न “Friday for Future” कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए। विद्यालय तहमा व्यवहारिक सिकाइ, अतिरिक्त क्रियाकलाप तथा समुदायसँगको सहकार्यलाई अझ सशक्त बनाउन सहजीकरण कार्यक्रमले सहयोग गर्ने मन्त्रालयका उपसचिव प्रकाश देवकोटाले बताउनुभयो।

आयोजक मन्त्रालयका प्रतिनिधिहरूले कार्यक्रमको उद्देश्य, सञ्चालन प्रक्रिया तथा व्यवस्थापनसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्दै आगामी दिनमा सबै स्थानीय तह र विद्यालयमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा व्यक्त गरेका छन्।

दुईदिने कार्यशालामा मन्त्रालयका शाखा अधिकृत विदुरहरी आचार्य, विज्ञ राजेन्द्र भण्डारी तथा प्रेम पोखरेलले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका स्थानीय तहका शिक्षा अधिकृत तथा शिक्षक सहभागीहरूलाई सहजीकरण गरिरहेका छन्।

कार्यशालाले सहभागीबीच अनुभव आदानप्रदान, योजना निर्माण तथा कार्यक्रम सञ्चालनसम्बन्धी साझा समझदारी विकास गर्न सहयोग पुग्ने उपसचिव प्रकाश देवकोटाले बताउनुभयो।