पशुपंक्षी सम्बन्धी कसुरमा बागलुङमा १० जना पक्राउ

-


     हिडन खबर    
     वैशाख ३० गते २०८३ मा प्रकाशित


बागलुङ, वैशाख ३० — बागलुङ प्रहरीले पशुपंक्षी सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढाेरपाटन नगरपालिका–३ घाेषा क्षेत्रमा गोरु काटी मासु बिक्री तथा सेवनका लागि तयारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले मंगलबार छापा मारेको हो।

प्रहरीले घटनास्थलबाट होस्पाटन निवासी ४० वर्षीय लालवीर विक, २१ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर रोका, ५३ वर्षीय तिलप्रसाद सुनार, ६० वर्षीय थामबहादुर सुनार, ४६ वर्षीय विमल विक, २२ वर्षीय विनोद सुनार, ३० वर्षीय जालबहादुर कामी, ३७ वर्षीय भक्तबहादुर कामी र ४० वर्षीय भिमप्रसाद सुनारलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले जिउँदो गोरु काटी मासु भाग लगाउने तयारी गरिरहेको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट गोरु काट्न प्रयोग गरिएका हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्नमाथि सम्मानित बागलुङ जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसुर (गाई/गोरु मार्न वा काट्न नहुने) मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल जंग थापाले जनाएको छ।