
बागलुङ, वैशाख २८
श्री नं २३ बाहिनी अड्डा बागलुङको आयोजनामा सोमबारदेखि ‘बाहिनीपति ट्रफी प्रतियोगिता–२०८३’ सुरु भएको छ।
नेपाली सेनाको २३ नं बाहिनी अन्तर्गत रहेका गण तथा गुल्महरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ तथा निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले संयुक्त रूपमा गर्नुभएको थियो।
प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ तथा एथलेटिक्स गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा श्री नं ३२ बाहिनी अड्डा, कालिजंग गण बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख गुल्म म्याग्दी तथा नयाँ रणभिम गुल्म पर्वतका खेलाडीहरूको सहभागिता रहेको सेनानी श्यामबहादुर विकले जानकारी दिनुभयो।
प्रतियोगिताबाट उत्कृष्ट छनोट भएका टिम तथा खेलाडीलाई पृतनापति ट्रफी प्रतियोगितामा सहभागी गराइनेछ। पृतनापति ट्रफीमा उत्कृष्ट हुने टिम तथा खेलाडीले प्रधानसेनापति ट्रफी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

वैशाख ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि चार जिल्लाबाट २ सय ७० जना खेलाडी सहभागी भएका छन्। खेलमार्फत सेनाका सबै दर्जालाई अनुशासित बनाउने, स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले बताउनुभयो।













