फणीश्वरनाथ रेणुको ‘कुली सात सालको कथा’ परिचर्चा तथा सिर्जना उत्सव सम्पन्न

-


     हिड्न खबरदाता    
     वैशाख २८ गते २०८३ मा प्रकाशित


पोखरा, वैशाख ।२८

समयदृष्टि पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति ‘कुली सात सालको कथा’ माथि परिचर्चा एवं सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्तिलाई इतिहाससँग जोडेर प्रस्तुत गरेको बताए । उनले उक्त कृतिमा सात सालको कथा मात्र नभई नेपालको राणा शासनविरुद्धको संघर्ष र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे ।

हिन्दीमा लेखिएको उक्त कृतिलाई तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेका हुन् । कार्यक्रममा कृतिको महत्व गरिमामय बनेको धारणा व्यक्त गरिएको थियो ।

डा. न्यौपानेले उक्त कृति पढ्दा कतै खुशी र कतै आँसु आउने घटनाहरू समेटिएको बताए ।

कार्यक्रममा नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल ‘अथक’ले उक्त कृति साहित्य, पत्रकारिता तथा प्रजातान्त्रिक आन्दोलनको तथ्यपूर्ण र अमर दस्तावेज भएको बताए । उनले लामो समयदेखि चर्चा गर्न चाहेको विषय अहिले आएर पूरा भएको उल्लेख गरे ।

उनले अहिले समाज अवसरवादी सोचमा रुमल्लिरहेको बेला सच्चा क्रान्तिको कथाले गलत प्रवृत्ति र पात्रहरूलाई परास्त गर्ने धारणा व्यक्त गरे ।

संस्थालाई भर्‍याङ बनाएर मान–सम्मान र अवसर खोज्ने प्रवृत्तिले नेपाली साहित्यमा धमिलोपन छाएको उल्लेख गर्दै उनले गौरवपूर्ण इतिहास बोकेको कृतिको परिचर्चा गर्न पाउँदा खुशी लागेको बताए ।

सो अवसरमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रभावयुक्त अभिनयमूलक प्रस्तुति दिएका थिए ।
कृति परिचर्चा, गीत, संगीत, नृत्य, अभिनय तथा रचना वाचनसहित सिर्जना उत्सव सम्पन्न भएको नेपाली लेखक संघ कास्कीले जनाएको छ ।

नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल ‘अथक’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शंकर जबागोली, धर्मराज अल्पायु, कोषाध्यक्ष गायत्री पराजुली, हुण्डीराज जबागोली, सहसचिव बसन्त चालिसे, लक्ष्मण थापा, मुक्तिप्रसाद रेग्मी, डा. चन्द्रबहादुर गुरुङ, उपाध्यक्ष चन्द्रावती बाग्ले तथा सचिव रोशन तमिल्सिनालगायतले गीत, गजल, मुक्तक तथा कविता वाचन गरेका थिए ।