
२०८३ बैसाख २८, सोमबार – काठमाडौं
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ का लागि संगठनात्मक संरचना सुदृढ बनाउन बागमती क्षेत्रअन्तर्गतको क्याबिनेट विस्तार कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ५४५ भन्दा बढी सदस्यलाई विभिन्न विभागीय तथा संगठनात्मक जिम्मेवारी प्रदान गरिएको हो।
कार्यक्रममा वरिष्ठ लायन्स व्यक्तित्व, पूर्व गभर्नर, विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, सामाजिक अभियन्ता र देशभरका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहलाई आगामी कार्यकालको नेतृत्व, सेवा अभियान र संगठन विस्तारको दृष्टिले विशेष महत्वका साथ हेरिएको छ।

गत वैशाख १२ गते सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट रमेश अधिकारी डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए। विष्णुहरी फुयाल फस्ट भाइस गभर्नर तथा हसनकुमार गोपाली सेकेन्ड भाइस गभर्नरमा निर्वाचित भएका थिए।
निर्वाचनपछि गभर्नर अधिकारीले संगठनलाई उत्तरदायी, अनुशासित र सेवामुखी ढंगले अघि बढाउने प्रतिबद्धतासहित प्रारम्भिक क्याबिनेट घोषणा गरेका थिए।

प्रारम्भिक संरचनाअनुसार गणेश जिसी डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी, चुडामणि सिलवाल कोषाध्यक्ष, ज्ञानु बुर्लाकोटी एक्जक्युटिभ काउन्सिलर, मिनराज काफ्ले चिफ एडभाइजर, सुरेन्द्रबाबु श्रेष्ठ पीआरओ इन चिफ, मुना थापा चिफ एडमिनिस्ट्रेटर तथा श्रीकृष्ण मानन्धर गभर्नर थीम चिफमा नियुक्त भएका छन्। साथै, महेश पौडेल चिफ एओजी, महाप्रसाद पाण्डे मिसन १.५ चिफ, काजीमान गुरुङ चिफ एक्जक्युटिभ एडभाइजर तथा बसन्त गिरी चिफ एक्जक्युटिभ को-अर्डिनेटरमा मनोनित भएका छन्।

क्याबिनेट सेक्रेटरी जिसीका अनुसार बागमती क्षेत्रको विस्तार कार्यक्रममा अनुभवी, सक्रिय तथा सेवामुखी सदस्यलाई जिम्मेवारी दिइएको हो। नयाँ कार्यसमितिले सदस्यता अभिवृद्धि, नेतृत्व विकास, सेवा परियोजना विस्तार तथा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछ।

गभर्नर अधिकारीले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानवीय सहायता तथा समुदाय केन्द्रित सेवा कार्यक्रमलाई आगामी कार्यकालका मुख्य प्राथमिकता बनाइने बताए। साथै संगठनभित्र पारदर्शिता, सहकार्य र अनुशासनलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, आगामी मंगलबार पोखरामा गण्डकी र धौलागिरी क्षेत्रको संयुक्त क्याबिनेट विस्तार कार्यक्रम आयोजना हुने तयारी गरिएको छ। त्यस्तै, जेठ २२–२४ गते चितवनमा ‘क्याबिनेट अफिसर्स स्कुलिङ’ कार्यक्रममार्फत नव नियुक्त पदाधिकारीलाई नेतृत्व विकास, प्रशासनिक व्यवस्थापन तथा अन्तर्राष्ट्रिय कार्यप्रणालीबारे विशेष प्रशिक्षण दिइनेछ।

स्मरणीय छ, १९१ वटा क्लब आबद्ध रहेको डिस्ट्रिक्ट ३२५ के नेपाल पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको होम डिस्ट्रिक्टका रूपमा परिचित छ। नेपालको लायन्स अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न बुर्लाकोटीले खेलेको भूमिकाका कारण यो डिस्ट्रिक्टलाई विशेष महत्वका साथ हेरिन्छ।

















