
लेखनाथ, २६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न ६०औं निर्वाचनमा कार्यकारिणी सदस्य पदमा अत्यधिक मत प्राप्त गरी निर्वाचित संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय तथा गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ।
कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा क्रमशः केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित भएको बताउँदै यसबाट संघको विगतदेखि नै उत्कृष्ट रहेको छवि अझ उच्च बनेको उल्लेख गरिन्।
अध्यक्ष पराजुलीले नवनिर्वाचित दुवैलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यस क्षेत्रका व्यवसायीहरूको साझा समस्यालाई केन्द्रीय तहसम्म उठाउन संघ अझ सफल हुने विश्वास व्यक्त गरिन्।
सो अवसरमा महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरीले सम्पूर्ण लेखनाथवासीहरूको एकताले नै यो सफलता सम्भव भएको बताउँदै आगामी दिनमा अझै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण पराजुलीले आत्रेय र ओझाको विजय लेखनाथवासीहरूको मात्र नभई सम्पूर्ण नेपालका उद्योगी व्यवसायीहरूको विजय भएको उल्लेख गर्दै सोही अनुरूपको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित राजेन्द्र ओझाले संघमा आवद्ध सम्पूर्ण उद्योगी व्यवसायीहरूको साथ र सद्भावकै कारण आफू निर्वाचित हुन सफल भएको बताउँदै आगामी दिनमा व्यवसायीहरूको भावना र मर्मअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, महासंघको कार्यकारिणी सदस्य पदमा निर्वाचित छत्रधर आत्रेयले निर्वाचनमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसायीहरूको एकता नै आफ्नो शक्ति बनेको र अत्यधिक मतका साथ निर्वाचित हुन सफल भएको बताए। उनले संघले गरेको सम्मानले आफूलाई थप ऊर्जा प्राप्त भएको र आगामी दिनमा संघको गरिमा बढाउने कार्य गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रम संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वाँस्तोलाले गरेका थिए।













