कास्कीका जनप्रतिनिधिलाई बिमा तथा पञ्जीकरणसम्बन्धी अभिमुखीकरण

-


     हिडन खबर    
     वैशाख १५ गते २०८३ मा प्रकाशित


वैशाख १५, पोखरा

कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूसँग बिमा तथा पञ्जीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभएको थियो।

उद्घाटन मन्तव्यमा प्रमुख पौडेलले बिमा सचेतनामूलक उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कृषकसम्म बिमा सम्बन्धी जानकारी विस्तार गर्न सबै बिमा सेवा प्रदायक संस्थाहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो।

उहाँले बिमा दाबी तथा भुक्तानी प्रक्रियामा जटिलता रहेको भन्ने आम सर्वसाधारणको गुनासो रहेको उल्लेख गर्दै उक्त प्रक्रियालाई सरल बनाउन सरकारी निकाय तथा बिमा नियामक निकाय नेपाल बिमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। साथै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बिमा प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले नेपालमा कृषि बिमाको व्यवस्था, सम्बन्धित विद्यमान ऐन–कानुन, अनुदान व्यवस्था, बिमा शुल्क तथा दाबी र भुक्तानी प्रक्रियाबारे जानकारी दिनुभयो।

त्यसैगरी कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिकता, राहदानीलगायत पञ्जीकरणसम्बन्धी समस्या र समाधानका विषयमा सहजीकरण गर्नुभयो। रूपा गाउँपालिका–२ का वडाध्यक्ष राजन सुवेदी तथा माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत केशव सुवेदीलगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो।

कार्यक्रममा कास्कीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, बिमा सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रम नेपाल बिमा प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो भने जिल्ला समन्वय समिति कास्कीले संयोजन गरेको थियो।

कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल बिमा प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालयकी सहायक निर्देशक कविता पाण्डेले राख्नुभएको थियो।