नेपाली सेनाको कालीजंग गणमा सैन्य आधारभूत तालिम सम्पन्न, ९७ जना दीक्षित

-


     सुवास आचार्य     
     वैशाख ११ गते २०८३ मा प्रकाशित


बागलुङ, बैशाख ११

बागलुङस्थित नेपाली सेनाको कालीजंग गणमा सञ्चालित सिसं ९ सैन्य आधारभूत तालिम सम्पन्न भएको छ।
शुक्रबार घोडाबाधे व्यारेकमा आयोजित ‘अन्तिम दलेल कवाज’ कार्यक्रमसँगै तालिम समापन भएको हो।

कार्यक्रममा ९७ जना नवप्रवेशी सैनिक दीक्षित भएको कालीजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिनुभयो।

गणको खेलमैदानमा आयोजित समारोहमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापाले नौ महिने आधारभूत तालिममा सहभागी सैनिकहरूले प्रस्तुत गरेको अन्तिम दलेल कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कार वितरण गर्नुभयो।

सम्बोधन गर्दै उपरथी थापाले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुने उल्लेख गर्नुभयो। दक्ष, अनुशासित र कर्तव्यनिष्ठ सैनिक नै सेनाको मेरुदण्ड भएको बताउँदै उहाँले नवदीक्षित सैनिकलाई राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्न निर्देशन दिनुभयो।

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सो अवसरमा विभिन्न विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई सम्मान गरिएको थियो।

  • सर्वोकृष्ट सैनिक सुदेश मगरलाई खुकुरीद्वारा पुरस्कृत
  • फायरिङमा उत्कृष्ट राजन विष्ट
  • ड्रिलमा उत्कृष्ट सुनिल लिम्बु
  • १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा
  • ५ किलोमिटर दौडमा उत्कृष्ट दिपेन रसाइली
  • बाधापारमा उत्कृष्ट सरोज राई

कार्यक्रममा श्री नं.२३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नवदीक्षित सैनिकका परिवार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।