
लेखनाथ, ०९ बैशाख – लेखनाथ उद्योग वाणिज्य संघमा ‘बिजनेस इन्क्युबेशन’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
लेखनाथ क्षेत्रमा दिगो पर्यटनसँग सम्बन्धित नवप्रवर्तनशील व्यवसायहरूको वृद्धि प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको ३ महिने व्यवसाय प्रवर्द्धन कार्यक्रमबारे जानकारी दिन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ‘द इन्क्युबेटर एकेडेमी’का सञ्चालक निरज खनाल र दिप्ती खकुरेलले बिजनेस इन्क्युबेशन तथा आगामी कार्यक्रमबारे सहजकिरण गरेका थिए।
स्वागत मन्तव्य दिँदै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले व्यवसायिक योजना र काम गर्ने इच्छाशक्ति हुँदाहुँदै पनि उपयुक्त वातावरण र लगानी अभावका कारण व्यवसायी बन्न नसक्नेहरूका लागि यो कार्यक्रम सुवर्ण अवसर भएको उल्लेख गर्दै आफ्ना व्यवसायिक योजना पेश गर्न आह्वान गरिन्।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजना, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोग तथा ‘द इन्क्युबेटर एकेडेमी’को सहकार्यमा सञ्चालन हुने परियोजना करिब तीन महिनासम्म चल्नेछ।
परियोजनाअन्तर्गत पहिलो चरणमा अभिमुखिकरण सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा आवेदन आह्वान, तेस्रो चरणमा शीर्ष १० व्यवसायीहरूको छनोट गरी ३ दिने ‘बुट क्याम्प’ सञ्चालन गरिनेछ। अन्तिम चरणमा इन्क्युबेशन तथा मेन्टरशिप सहयोग प्रदान गरिनेछ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सूचना प्रविधि, कृषि उत्पादन, यात्रा–पर्यटन, सुनचाँदी, हस्तकला, फर्निचर, निर्माण लगायतका क्षेत्रबाट लेखनाथ क्षेत्रको दिगो पर्यटनमा योगदान पुर्याउने व्यवसायिक योजना सहित आवेदन दिनुपर्नेछ। आवेदन बैशाख १३ गतेसम्म लेखनाथ उद्योग वाणिज्य संघको कार्यालय वा संघको वेबसाइटमार्फत अनलाइन दिन सकिनेछ।
नवप्रवर्तन, दिगोपन, विस्तार सम्भावना तथा बजार क्षमताका आधारमा १० व्यवसायलाई छनोट गरिनेछ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव भरतराज ओझाले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए।












