बागलुङमा नागरिक सहजकर्ता प्रहरी खटाइयो

-


     हिड्न खबरदाता     
     वैशाख ७ गते २०८३ मा प्रकाशित


बागलुङ, वैशाख –७

जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीलाई सहज, छिटो, छरितो र बिना कुनै हैरानी प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ।

उक्त सहजकर्ता प्रहरीमार्फत सेवाग्राहीहरूले आवश्यक जानकारी, निवेदन दर्ता प्रक्रिया, सेवा लिने तरिका लगायतका विषयमा तुरुन्तै सहयोग प्राप्त गर्न सक्नेछन्। साथै, कार्यालयमा आउने सेवाग्राहीहरूको भीड व्यवस्थापन, सही शाखा वा फाँटमा मार्गनिर्देशन, तथा सेवा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

यस व्यवस्थाले सेवाग्राहीहरूमा देखिने अन्योलता कम गर्ने, सेवा लिन लाग्ने समय घटाउने तथा प्रहरी कार्यालयप्रतिको नागरिक विश्वास अझ मजबुत बनाउने लक्ष्य राखिएको छ। सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने दिशामा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आगामी दिनहरूमा पनि नागरिक केन्द्रित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।