
बर्दिबास। चैत २७
सामान खरिद गर्न, कामकाज निम्त्याउन, घुम्न वा साथीभाइ भेट्न हामी अक्सर बजार जाने गर्छौँ। यी युवाले पनि हरेक दिन आफ्नो वासस्थान छाडेर बजार आउजाउ गर्छन्, तर उनको बजार जाने उद्देश्य भने विल्कुलै फरक छ।
उनी हरेक दिन अरुले फालेको खानेकुरा संकलन गर्न बजार जाने रहेछन्। फालेको, सडेको वा गलेको खानेकुरा जम्मा गरेर सडकको किनारमा बसेर भोको पेट शान्त पार्नु र जंगलमा गएर खुला आकाशमुनी रात बिताउनु उनको दैनिकी बनेको छ।
यो कुनै काल्पनिक वा बनावटी कथा होइन। नेपाल प्रहरीले नै उनको यस्तो दुदर्शाबारे जानकारी दिएको हो।
उनको अवस्था हेर्दा लाग्न सक्छ—यतिका लक्का जवानले त आफैं काम गरेर खान सक्थे। कुरा ठिकै हो, तर यसका लागि उनको मानसिक अवस्था सक्षम छैन।
नेपालको संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर नागरिकले त्यो अधिकार व्यवहारिक रूपमा अनुभूति गर्न नसके संविधानको मूल्य सामान्य कागजको खोस्टो बराबर हुने रहेछ। स्वयं आफ्ना लागि केही गर्न नसक्ने, हेरचाह गर्ने कोही नभएका कयौँ सडकआश्रितहरूको लागि संविधान यस्तै खोस्टो बनेको छ।
उनीलाई मानवसेवा आश्रमको उद्धार टोलीले बिहीबार बर्दिबास चोकबाट उद्धार गरी संरक्षणमा लिएको छ। विगत १४ वर्षदेखि देशव्यापी रूपमा खुला आकाशमुनी रात बिताउन बाध्य भएका, खाना, नाना र छानाविहीन १४ हजारभन्दा बढी सहयोगापेक्षीहरूको उद्धार र व्यवस्थापन गरिसकेको मानवसेवा आश्रमले २०८२ सालभित्र सडकआश्रित सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण गर्ने संकल्प लिएको छ।
आवश्यकताअनुसार सरकारको साथ नपाउँदा केही समय लम्बिन सक्ने भए पनि आउँदो भाद्र १३ गतेसम्ममा जसरी पनि सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा हुने आश्रमका केन्द्रीय सचिव तथा प्रवक्ता सुमन बर्तौलाले बताएका छन्।
संविधानले ३१ ओटा मौलिक अधिकार सुनिश्चित गरे पनि अझै पनि कयौँ मानिस खाना, नाना र छाना जस्ता आधारभूत अधिकारमै संघर्षरत छन्। यो अवस्थाको अन्त्यका लागि विगत १४ वर्षदेखि निरन्तर काम गरिरहेको मानवसेवा आश्रमका प्रमुख संस्थापक तथा अध्यक्ष रामजी अधिकारीले बताएका छन्।
सात प्रदेशका २१ जिल्लामा ३१ शाखा विस्तार गरी सहयोगापेक्षी सडकआश्रितहरूको उद्धार, उपचार तथा सम्भव भएकाहरुलाई औषधोपचारपछि पारिवारिक मिलन गराउँदै आएको आश्रमले हाल सातै प्रदेशमा प्रदेशस्तरीय उद्धार यात्रा सञ्चालन गरिरहेको छ। साथै, आउँदो बैशाख ३० गतेदेखि मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गर्ने तयारी गरेको छ।












