बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

-


     सुवास आचार्य     
     चैत्र २६ गते २०८२ मा प्रकाशित


बागलुङ, चैत्र २५

नेपाली सेनाको २३ नम्बर वाहिनी अड्डा, बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ। सेनाको वार्षिक योजना अनुसार भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो।

बागलुङ उपसम्मेलन केन्द्र २३ नम्बर वाहिनी अड्डामा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा बसोबास गर्ने करिब १ हजार ३ सय भूतपूर्व सैनिक तथा एकल महिलाहरू सहभागी भएका थिए। भूतपूर्व सैनिक तथा उनका परिवारलाई लक्षित गर्दै नेपाली सेनाले प्रदान गर्दै आएका कल्याणकारी योजनाबारे जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

गण्डकी प्रदेश अन्तर्गत नेपाली सेनाद्वारा बुधबार तनहुँको खैरेनीटार र बागलुङमा सम्मेलन गरिएको थियो। कार्यक्रममा प्रधानसेनापति महारथी अशोक राज सिग्देले तनहुँको खैरेनीटारमा गर्नुभएको सम्बोधन बागलुङमा अनलाइनमार्फत प्रस्तुत गरिएको थियो। सो अवसरमा उहाँले हालै सम्पन्न संसदीय निर्वाचन सफल बनाउन नेपाली सेनाले खेलेको भूमिकाको सर्वत्र प्रशंसा भएको उल्लेख गर्नुभयो।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बढ्दै गइरहेका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मुलुकको सुरक्षामा सधैं चनाखो रहनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, नेपाली सेनाले सञ्चालन गर्दै आएका कल्याणकारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि २३ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी अर्जुन खड्काले एकल महिलाहरूलाई ह्विलचेयर र बैसाखी वितरण गर्नुका साथै भूतपूर्व सैनिक तथा एकल महिलासँग अन्तरक्रिया गरी सुझाव संकलन गर्नुभएको थियो।

कल्याणकारी बोर्डका कार्यकारी अध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पञ्चेबाजा लगायतका सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।

नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो। सेनाका अनुसार यस्ता कार्यक्रमहरूले सेवारत तथा अवकाश प्राप्त सैनिकबीचको सम्बन्ध सुदृढ बनाउनका साथै कल्याणकारी कोषको दिगोपन सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

साथै, शिक्षा, स्वास्थ्य, सहुलियत तथा स्वरोजगारका क्षेत्रमा हिताधिकारीहरूलाई समयानुकूल सेवा तथा सुविधा प्रदान गर्न आवश्यक सुझाव संकलन गर्न पनि यस्ता कार्यक्रम उपयोगी हुने बताइएको छ।