सञ्चारकर्मी तथा गायक कृष्ण सुवेदी युके प्रस्थान

-


     केपी कुमार जलन    
     चैत्र २० गते २०८२ मा प्रकाशित


बेलायतमा सक्रिय ‘पर्वत समाज यूके’ले नेपाली नयाँ वर्षको अवसर पारेर पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सांगीतिक साँझ तथा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ।

सन २००२ मा स्थापना भएको उक्त समाजले आगामी अप्रिल ४ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सहभागी हुन गायक तथा सञ्चारकर्मी कृष्ण सुवेदी पहिलो पटक युके प्रस्थान गरेका छन्।

सांगीतिक कार्यक्रमका लागि युके पुगेका गायक सुवेदीसँगै लोकदोहोरी गायिका सोनी कुँवर र गायिका निरा थापा मगरले पनि बेलायतका विभिन्न शहरहरूमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुति दिनेछन्।

बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यसअघि पनि च्यारिटी डिनरमार्फत पर्वतका विभिन्न गाउँपालिकामा रहेका करिब एक हजार गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पर्वत समाज यूकेका अध्यक्ष सुरज पौडेलले जानकारी दिएका छन्।