
लुम्बिनी। मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित ‘लुम्बिनी प्रदेश उद्धार यात्रा २०८२’ आजदेखि सुरु गरेको छ। प्रदेशका विभिन्न स्थानका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा तथा असहाय व्यक्तिहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आश्रमले जनाएको छ।
चैत १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उद्धार यात्रा लुम्बिनी प्रदेशका १२ जिल्ला—बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा सञ्चालन हुनेछ। आज भने उद्धार टोली बर्दिया जिल्लामा केन्द्रित रही सडकआश्रित मानवहरूको खोजीमा रहनेछ।
उद्धार यात्राका क्रममा सडकमा अलपत्र जीवन बिताइरहेका बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा शारीरिक वा मानसिक रूपमा कमजोर व्यक्तिहरूको अवस्था अवलोकन गरी वास्तविक सडकआश्रित मानवहरूको पहिचान गरिनेछ। उद्धार गरिएका व्यक्तिहरूलाई आश्रमका विभिन्न शाखामा राखी उपचारसँगै सम्मानजनक जीवनयापनको वातावरण उपलब्ध गराइने आश्रमले स्पष्ट पारेको छ।
यस क्रममा उद्धार टोलीले स्थानीय तह, प्रहरी प्रशासन, सामाजिक संघ–संस्था तथा सरोकारवालासँग सहकार्य गर्दै ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश’ निर्माणका लागि प्रतिबद्धता संकलन गर्नेछ। अभियानमार्फत स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा रहेका सडकआश्रित मानवहरूको व्यवस्थापनमा जिम्मेवार बनाउने लक्ष्य राखिएको छ।
मानवसेवा आश्रमले प्रदेशका जुनसुकै स्थानमा जोखिमपूर्ण अवस्थामा सडकमा जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरू देखिएमा नजिकको प्रहरी कार्यालय वा उद्धार टोलीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आश्रमले विगतदेखि नै खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक–मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा सम्भव हुनेहरूको पारिवारिक पुनर्मिलन गर्दै आएको छ।










