
बागलुङ चैत १४
बागलुङमा सडक विस्तारका कारण मासिँदै गएका वर–पिपलका चौतारी संरक्षण गर्न स्थानीयवासी सक्रिय भएका छन्। मौलिक सम्पदा जोगाउन सुरु गरिएको ‘१०८ पिपल संरक्षण अभियान’ले अहिले गति लिएको छ।
गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा परम्परागत वर–पिपलका चौतारी मासिँदै गएका छन्। यसले वातावरणीय सन्तुलनसँगै सांस्कृतिक पहिचानसमेत जोखिममा परेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै बागलुङ नगरपालिका–५, धुर्पुला मालिका क्षेत्रमा ‘श्रीराम मन्दिर १०८ पिपल संरक्षण योजना’ अन्तर्गत अभियान सञ्चालन गरिएको छ। रामनवमीको अवसर पारेर पिपलका बिरुवा रोप्दै यसको धार्मिक तथा वातावरणीय महत्वबारे जानकारी समेत गराइएको छ।
सडक विस्तारका क्रममा नष्ट भएका चौतारी र पिपलका रुखको विकल्पस्वरूप २०७२ साल भदौ २२ गतेदेखि वृक्षरोपण सुरु गरिएको स्थानीय बताउँछन्। मौलिक सम्पदा हराउँदै गएको भन्दै संरक्षण अभियान अघि बढाइएको हो।
“वर–पिपलका चौतारी मासिँदै जाँदा हाम्रो मौलिक पहिचान नै हराउने खतरा बढ्यो। त्यसैले नयाँ पिपल रोपेर संरक्षण अभियान सुरु गरेकाे स्थानीय शिक्षक घनश्याम रिजालले बताए ।
“सार्वजनिक स्थलमा रहेका चौतारी र पिपल मासिएपछि नयाँ बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने अभियान थालेकाे समितिका अध्यक्ष डिल्लीराम सापकोटाले बताए ।
“सडक छेउमा रोपिएका वर–पिपलले वातावरण संरक्षणसँगै धार्मिक महत्व पनि बोकेको छ। यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
बागलुङ नगरपालिका–५ क्षेत्रमा सडक छेउमा ११८ भन्दा बढी वर–पिपलका बिरुवा रोपिएका छन्। यस अभियानमा स्थानीय ११८ जनाले प्रतिव्यक्ति २ हजार २ सय १० रुपैयाँ सहयोग संकलन गरेका छन्।
बागलुङ नगरपालिकाले पनि अभियानलाई सहयोगस्वरूप १ लाख रुपैयाँ प्रदान गरेको छ ।
पछिल्लो समय बागलुङ बजार क्षेत्रमा चौतारी मासिने क्रम बढ्दो छ। यद्यपि, स्थानीय युवाको सक्रियतामा मालीका हुँदै धार्मिक पर्यटकीय केन्द्र सर्वसिद्धिधाम पञ्चकोट जाने सडकखण्डमा चौतारी पुनर्निर्माण गरिएको छ। स्थानीयकै सहयोगमा प्लास्टर र रङरोगन गरी चौतारीलाई आकर्षक बनाइएको छ।
समुदायका एकएकजना ब्यक्तिले एउटा एउटा रूख संरक्षण गर्ने जिम्मेवारी लिएका मात्र छैनन् त्यसको सम्पूर्ण खर्च समेत आफैले गरेको कारण पनि यतिबेला
पिपलकाे रूख राम्रोसँग हुर्कदै गइरहेको देखिन्छ ।
मानिसलाई स्वच्छ हावा दिने हिन्दु धर्मावलम्बीले पुजा गर्ने वर पिपलकाे रूख हिजोको दिनमा जथाभावी रूपमा काटेर मासेपनि ढिलै भएपनि यसको संरक्षण गर्ने अभियानमा लाग्नुलाइ सबैले सकारात्मक रूपमा हेरेका छन् ।
















