बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू

-


     हिडन खबर    
     चैत्र १२ गते २०८२ मा प्रकाशित


काठमाडौं, चैत १२
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान दरमा मूल्यवृद्धि गरिएको जानकारी दिएको हो। बढेको मूल्य आजदेखि लागू भएको छ।

पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही कारण निगमलाई गत १५ दिनमा करिब ५ अर्ब रुपैयाँ घाटा भएको र आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने अनुमान गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसारः

  • पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज) मा पेट्रोल प्रतिलिटर रु १८४.५० कायम हुनेछ।
  • दोस्रो वर्ग (सुर्खेत, दाङ) मा पेट्रोल प्रतिलिटर रु १८६ हुनेछ।
  • तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल) मा पेट्रोल प्रतिलिटर रु १८७ कायम हुनेछ।

निगमले अन्तर्राष्ट्रिय बजारमा आकस्मिक मूल्यवृद्धिका कारण उत्पन्न विषम परिस्थितिमा उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै नेपालमा पनि मूल्य घटाइने निगमले स्पष्ट पारेको छ।