बागलुङ निर्णयघाटमा १०८ वटा तुलसी मठमा तुलसी राेपन

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण ९ गते २०८३ मा प्रकाशित



बागलुङ, साउन ९

नेपालमा धार्मिक र परम्परागत रूपमा हरेक बर्ष
आजको दिन भगवान् विष्णुको प्रतीकका रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ। तुलसीले घर वरपरको वातावरण स्वच्छ बनाउन सहयोग पुर्‍याउने विश्वास छ। धार्मिक मान्यताअनुसार तुलसीबिना भगवान् विष्णुको पूजा–आराधना पूर्ण मानिँदैन। तुलसी अत्यन्त उपयोगी वनस्पति हो। यसको पात, फूल तथा अन्य भागहरू औषधीय गुणले भरिपूर्ण मानिन्छन्। यहीँ तुलसी लाई जगेर्ना गर्न बागलुङ सदरमुकामकाे निर्णयघाटमा १०८ वटा तुलसी मठ तयार गरेर एकसाथ तुलसी राेप्ने काम गरियो ।

बागलुङको निर्णयघाटमा धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्त्व बोकेको तुलसी संरक्षण गर्ने अभियानअन्तर्गत एकैसाथ १०८ वटा तुलसी रोप्ने कार्य सम्पन्न भएको छ ।

निर्णयघाट मानवसेवा धाम विकास समिति बागलुङको आयोजनामा हरिवाेधनी एकादशीकाे पावन अवसरमा विशेष धार्मिक विधि अनुसार १०८ वटा तुलसी मठमा विधिपूर्वक तुलसी रोपिएकाे छ ।

मानव सेवा धामकाे रूपमा विकास गर्ने गुरुयोजना अन्तर्गत तुलसी राेप्ने एकादशीका दिन १०८ वटा मठ पवित्र कालीगण्डकी नदिकाे तटमा तुलसी राेपेर अगाडि बढेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

आफ्नो पितृकाे पुन्य तिथि परेको कारणले यश पवित्र ठाउँमा बुवाकाे सम्झनामा आमाले तुलसी राेप्ने इच्छा गरे अनुसार कार्य गरेको स्थानीय कमला केसीले बताए ।

तुलसीकाे महत्त्व आफ्नो ठाउँमा भएको तुलसी भगवान बिण्णुकाे अवतार भएको कारणले पनि एकादशीकाे दिन आएर राेपेकाे स्थानीय लक्ष्मी पाैडेलले बताए ।

प्रत्येक हिन्दु धर्मावलम्बीको घर घरमा परापूर्व कालदेखि
तुलसी राेप्ने चलन भएको तुलसी धार्मिक मात्र नभएर
यसमा धेरै प्रकारको आ‌ैषधीय गुण भएको स्थानीय पण्डित हरिप्रसाद पाैडेलले बताए ।

हिन्दु धर्ममा तुलसीलाई पवित्र र पूजनीय वनस्पतिका रूपमा लिइन्छ। अधिकांश आस्तिक परिवारका घर–आँगनमा तुलसीको मठ स्थापना गर्ने परम्परा रहिआएको छ। धार्मिक आस्थासँगै तुलसीलाई वातावरणीय तथा स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

साउन महिनामा तुलसी रोप्ने परम्परा विशेष रूपमा प्रचलित छ। तुलसी मठको नियमित सरसफाइ, संरक्षण र पूजाआजाले धार्मिक वातावरण प्रवर्द्धन गर्नुका साथै हरियाली संरक्षणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

निर्णयघाट मानवसेवा धाम विकास समितिले एकजना दाता संग तुलसी मठ बापत १० हजार ५ सय लिएर
मठमा दाताको नाम सिंगमर्मतमा लेख दिने ब्यवस्था गरेको कारण पनि धार्मिक आस्था राख्ने १०८ जना महानुभावले तुलसी मठ आआफ्नो नाममा बनाएको
निर्णयघाट मानवसेवा धाम विकास समितिले जनाएको छ ।

रुघाखोकी, ज्वरोलगायत विभिन्न स्वास्थ्य समस्यामा तुलसीलाई घरेलु औषधिका रूपमा प्रयोग गर्ने परम्परा छ। घरमा तुलसी रोप्दा नकारात्मक ऊर्जा नष्ट हुने धार्मिक विश्वास पनि रहिआएको छ।

हिन्दू धर्मावलम्बीहरूका लागि तुलसीको विशेष महत्व छ। त्यसैले अधिकांश हिन्दू परिवारले घरको आँगन वा मूलढोकानजिक तुलसीको मठ निर्माण गरी तुलसी रोप्ने गर्छन्। तुलसीको मठ भएको घरलाई तीर्थस्थलसरह पवित्र मान्ने परम्परा रहेको भएपनि शहर बजारमा भने साँघुरो ठाउँमा बनाइएका घर शहरी वातावरणका कारण तुलसी मठ बनाएर तुलसी राेप्ने कार्य भने निकै कम हुदै गएको देखिन्छ ।

निर्णयघाटमा स्थापना गरिएको १०८ तुलसी रोपण अभियानले धार्मिक पर्यटन, वातावरण संरक्षण तथा सामाजिक सहभागितालाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले धारणा राख्नुभएको थियोे ।कार्यक्रम निर्णयघाट मानवसेवा धाम विकास समितिका अध्यक्ष शहदेव राजभण्डारीकाे अध्यक्षता र सचिव युक्त सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।