
बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने, परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउने उद्देश्यसहित आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ मार्च २१ र २२ तारिखमा टोकियोस्थित मिता लाइनको ओनारिमोन स्टेशन नजिक रहेको शिबा पार्कमा भव्य रूपमा सम्पन्न भएको छ।
सोही अवसरमा बागलुङको धम्जामा जन्मिएका तथा हाल जापानको टोकियोलाई कर्मथलो बनाउँदै आएका लोकप्रिय गायक सूर्य खड्कालाई ‘बागलुङ रत्न’ जस्तो गरिमामय पदवीबाट सम्मानित गरिएको छ।
गायक खड्काले आफ्नो कला, गला र क्षमतामार्फत बागलुङको कला–संस्कृति तथा समग्र जिल्लालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै यस वर्ष कला–संस्कृतिको क्षेत्रमा उनलाई उक्त पदवीबाट विभूषित गरिएको हो।
विदेशी भूमिमा यति ठूलो पदवीबाट सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको गायक खड्काले बताएका छन्।













