
काठमाडौँ — निर्वाचनमा अप्रत्याशित पराजयपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
केन्द्रीय कार्यसमिति बैठक बस्ने मिति तय भएपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। तर, पार्टीले राजीनामा सार्वजनिक गरेको छैन।
६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उनको राजीनामाबारे औपचारिक छलफल हुने बताइएको छ। एक पदाधिकारीका अनुसार राजीनामा दिने निर्णय सभापतिको भए पनि स्वीकृति दिने/नदिने अधिकार कार्यसमितिकै हुनेछ।
२७–३० पुसमा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। त्यसको वैधानिकताबारे दायर रिट सर्वोच्च अदालतमा विचाराधीन छ।
महाधिवेशनको वैधानिकता विवादकै बीच थापा र शर्माले बहुमत प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए। महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै १३४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको थियो।
निर्वाचन आयोगले उक्त महाधिवेशनलाई वैधानिकता दिँदै नयाँ कार्यसमिति अद्यावधिक गर्ने निर्णय गरिसकेको छ।













