
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरूलाई लक्षित गरी आगामी चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको महामन्त्री कबिन्द्र बुर्लाकाेटीले जनाएको छ ।
सूचनाअनुसार कार्यक्रम ललितपुरको खुमलटारस्थित होटेल रोयल टुलिप मा बिहान १० बजेबाट सुरु हुने छ। कार्यक्रममा पार्टीका सबै नवनिर्वाचित सांसदहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ।
पार्टीले कार्यक्रम अवधिभर सांसदहरूको खाना तथा आवासको व्यवस्था ‘सेयरिङ बेसिस’ मा गर्ने जनाएको छ। साथै कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
सूचनामा कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको उल्लेख छ। परिवार सदस्य, साथी वा अन्य अतिथिलाई कार्यक्रममा आमन्त्रण नगर्न सांसदहरूलाई निर्देशन दिइएको छ।
यस्तै, कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पनि आग्रह गरिएको छ। कार्यक्रममा सहभागी हुने सांसदहरूलाई व्यावसायिक क्याजुअल (Business Casual) पोशाकमा उपस्थित हुन भनिएको छ।














