
कास्की । चार–पाँच जना व्यक्तिले घेरा हालेर हिँडिरहेको दृश्य सार्वजनिक भएपछि आलोचना बढेपछि कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य विना गुरुङले प्रष्टीकरण दिएकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोबारे स्पष्ट पार्दै सांसद गुरुङले उक्त दृश्यको अघिपछि भएको घटनाबारे थाहा नहुँदा विभिन्न टिप्पणी आएको बताएकी छन्। उनले यस्तो तामझाम आफूलाई आवश्यक नभएको र त्यसप्रति आफू सहमत नरहेको पनि उल्लेख गरेकी छन्।
उनका अनुसार फागुन २७ गते उनको पार्टीको कास्की जिल्ला कमिटीले सृजनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा कास्की क्षेत्र नम्बर १, २ र ३ का प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई बधाई तथा मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम बिहान ११ बजेका लागि तय भए पनि प्राविधिक कारणले ढिला सुरु भएको थियो।
कार्यक्रमका क्रममा हलमा प्रयोग गरिएको स्पिकर राम्रोसँग काम नगरेपछि परिवर्तन गर्नुपरेको र यसअघि बोलेका नेताको भाषण स्पष्ट नबुझेको गुनासो आएपछि पुनः बोल्न लगाइँदा कार्यक्रम झन् ढिला भएको उनले बताइन्। कार्यक्रम करिब २:१५ बजे सकिएपछि उपस्थित नागरिकबाट बधाई तथा शुभकामना लिने क्रम सुरु भएको थियो।
उक्त दिन साँझ काठमाडौँ जानका लागि बुद्ध एयरको टिकट लिएको र पछि उडान समय ४:५० बाट ३:४० मा सारिएको जानकारी आएपछि आफू हतारमा
कार्यक्रमस्थलबाट बाहिर निस्कन खोजेको उनले बताइन्। तर शुभेच्छुकले खादा लगाइदिने र फोटो खिच्न चाहने भीड बढेपछि बाहिर निस्कन कठिन भएको उनको भनाइ छ।
पछि स्वयंसेवकको सहयोगमा बाहिर निस्कने क्रममा केही युवाले घेरा हालेर गाडीसम्म पुर्याएका रहेछन्, जसको भिडियो सामाजिक सञ्जालमा फैलिएको उनले बताइन्। उनले आफूले कसैसँग सुरक्षा माग नगरेको र भिडियोमा देखिएका व्यक्तिलाई व्यक्तिगत रूपमा नचिनेको स्पष्ट पारेकी छन्।
सांसद गुरुङले उक्त भिडियोले आफूलाई व्यक्तिगत रूपमा विचलित नबनाए पनि आफूलाई विश्वास गरेर निर्वाचित गराउने कास्की क्षेत्र नम्बर ३ का मतदाताको भावनामा चोट पुगेको हुन सक्ने चिन्ता व्यक्त गरेकी छन्।
उनले आफू नागरिकको सुखदुःखमा साथ दिन, विकासका लागि काम गर्न र जनताको आवाज बोकेर अघि बढ्न प्रतिनिधि बनेको बताउँदै भिडियोमा देखिएजस्तो सुरक्षा र तामझाम कहिल्यै आवश्यक नरहेको उल्लेख गरिन्।
“म सधैं नागरिकको आवाज बोकेर हिँड्नेछु। मेरो सुरक्षा पनि नागरिकले नै गर्नुहुनेछ भन्नेमा मेरो विश्वास छ,” उनले भनिन्।
सांसद गुरुङले कास्की क्षेत्र नम्बर ३ का मतदाताले राखेको विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।












