
बागलुङ। फागुन २८
सुर्खेतकी १६ वर्षीया किशोरी इन्सा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति अन्तर पार्टी महिला सञ्जाल जिल्ला समिति बागलुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सञ्जालले दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

सञ्जालकी अध्यक्ष सीता सापकोटा र सचिव हुमा खड्काद्वारा जारी ध्यानाकर्षण पत्रमा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भएकी विक हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी थिइन्। उनीमाथि भएको बलात्कारपछि हत्या जस्तो जघन्य र अमानवीय घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ।
पत्रमा यस्तो प्रकारको अपराधले मानव अधिकार, महिला सुरक्षा तथा कानुनी शासनमाथि गम्भीर चुनौती खडा गरेको बताइएको छ। साथै समाजमा महिलामाथि हुने हिंसा, असुरक्षा र दण्डहीनताको समस्या अझै विद्यमान रहेको स्पष्ट देखिएको सञ्जालको भनाइ छ।
सञ्जालले घटनाको निष्पक्ष, पारदर्शी र छिटो अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा भन्दा कडा सजाय दिन माग गरेको छ। साथै पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति तथा आवश्यक सुरक्षा उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिएको छ।
यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यका सम्बन्धित निकायले महिला तथा बालिकाको सुरक्षाका लागि प्रभावकारी नीति, कडा कानुनी कार्यान्वयन र सामाजिक सचेतनामूलक कार्यक्रमलाई थप सशक्त बनाउनुपर्ने सञ्जालले जनाएको छ।
सञ्जालले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। दोषीलाई कानुनी कारबाही नभएसम्म र पीडितले न्याय नपाएसम्म आवाज उठाइरहने पनि सञ्जालले जनाएको छ।














