निर्वाचनमा मतदान गर्ने मतदातालाई नेपाली कांग्रेस बागलुङ–१ को धन्यवाद

-


     हिडन खबर    
     फागुन २४ गते २०८२ मा प्रकाशित


बागलुङ। प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आभार व्यक्त गरेको छ।

मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण मतदाता, शुभेच्छुक र समर्थकप्रति नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, सभापति चण्डी प्रसाद शर्माले बागलुङको निर्वाचन परिचालन समितिले हार्दिक धन्यवाद व्यक्त गरेको हो।

समितिले जारी गरेको धन्यवाद ज्ञापनमा निरन्तर प्रयासका बाबजुद यस निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र प्रक्रियाप्रति आम नागरिकले देखाएको उत्साहजनक सहभागिता, विश्वास र प्रतिबद्धताप्रति उच्च सम्मान व्यक्त गरिएको छ।

विज्ञप्तिमा निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई जनताको अभिमत अभिव्यक्त गर्ने महत्वपूर्ण लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरिएको छ। प्राप्त नतिजालाई आत्मसात गर्दै कठिन परिस्थितिमा धैर्यता, सत्यनिष्ठा र सकारात्मक परिवर्तनको आकांक्षासहित अगाडि बढ्ने आवश्यकता औँल्याइएको छ।

नेपाली कांग्रेस जनताको तन, मन र योगदानबाट निर्माण भएको राजनीतिक धरोहर तथा लोकतान्त्रिक मूल्य–मान्यताको बलियो स्तम्भ भएको उल्लेख गर्दै आगामी दिनमा जनताको सुख–दुःखमा साथ दिँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

यसैगरी पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई संयमित रहन, अनावश्यक टीका–टिप्पणी नगर्न तथा गम्भीर आत्मसमीक्षासहित आगामी यात्राका लागि एकताबद्ध भएर अघि बढ्न पनि अपिल गरिएको छ।

साथै निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मतदाता, सुरक्षा निकाय, निर्वाचनकर्मी, पर्यवेक्षक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।