
बागलुङ । बागलुङमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो।
जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ। जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिनुभयो।
कुल मतदातामध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको बरालले बताउनुभयो। १० स्थानीय तह रहेको बागलुङमा हाल मतपेटिका संकलनको कार्य जारी रहेको छ।
बागलुङ जिल्लामा १३० मतदान केन्द्रमार्फत एक लाख ९३ हजार ३ सय ८१ जना मतदाता रहेका थिए। जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभयो।
जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो। बागलुङ कारागारमा रहेका ५५ मतदातामध्ये ५३ जनाले मतदान गरेका थिए।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ जना उम्मेदवार मैदानमा थिए। मतदानका क्रममा कुनै पनि अप्रिय घटना नघटेको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ।











