मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

-


     हिडन खबर    
     फागुन २० गते २०८२ मा प्रकाशित


बागलुङ, फागुन२०

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, बागलुङ अन्तर्गत बुढीगाउँस्थित श्री रमुवा आ.वि. मतदान केन्द्रका मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।

निर्वाचन आयोग नेपाल, प्रतिनिधि सभा सदस्य उपनिर्वाचन २०८२ अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङले जारी गरेको पत्र अनुसार मतदान अधिकृत श्री प्रकाश गैरेलाई जिम्मेवारीबाट मुक्त गरिएको हो।

कार्यालयका अनुसार मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गरिएको अभिव्यक्ति र गतिविधिका कारण निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको भन्दै उक्त निर्णय गरिएको जनाइएको छ।

निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०७२ को दफा २० बमोजिम कारबाही गर्दै उनलाई जिम्मेवारीबाट हटाइएको पत्रमा उल्लेख छ।

साथै, उनको जिम्मामा रहेका मतपत्र तथा मतदान सामग्री तत्काल सुरक्षा निकायलाई बुझाउन निर्देशन दिइएको छ। आवश्यक जानकारीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क राख्न पनि सूचित गरिएको छ।

मुख्य निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ निर्वाचन आयोग, काठमाडौंदेखि जिल्ला प्रशासन कार्यालय, बागलुङ लगायत सम्बन्धित निकायलाई पठाइएको छ।