
अन्तर्राष्ट्रिय बागलुङ समाज, बागलुङ समाज अमेरिका तथा बागलुङ समाज अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरले संयुक्त रूपमा आयोजना गर्न लागेको नर्थ अमेरिका स्तरिय क्षेत्रीय भेला २०२६ तथा नयाँ नेपाली वर्ष एवं चैतेदशैं कार्यक्रम आगामी २०२६ अप्रिल ४ र ५ मा अमेरिकाको नर्थ क्यारोलिनामा सम्पन्न हुने भएको छ।
गत सेप्टेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय बागलुङ समाजको कार्यसमिति बैठकले विभिन्न क्षेत्रमा क्षेत्रीय भेला गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, बाग्लुङ समाज अमेरिकाले फेब्रुअरी २१ मा बसेको बैठकमार्फत नर्थ क्यारोलिनामा क्षेत्रीय भेला तथा कार्यसमितिको भौतिक बैठक गर्ने निर्णय गरेको हो।
भेलाको लागि अन्तर्राष्ट्रिय बागलुङ समाजका उपाध्यक्ष कुल शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्य–सचिवमा अमेरिका क्षेत्रीय संयोजक मिन खड्का रहनुभएको छ। सदस्यहरूमा अन्तर्राष्ट्रिय बागलुङ समाजका पूर्व संरक्षक एवं सल्लाहकार दुर्गा अधिकारी (क्यानडा), सल्लाहकारहरू भुमिश्वर सापकोटा (अमेरिका), भवि न्यौपाने (क्यानडा), डा. गंगाधर आचार्य (अमेरिका), अनुसुया श्रेष्ठ (अमेरिका), विपिन श्रेष्ठ (अमेरिका), देविका केसी (क्यानडा) लगायत रहेका छन्।
कार्यक्रम सफल पार्न आयोजक समितिमा एटलान्टाबाट समाजसेवी भविन्द्र बस्नेत, बाग्लुङ समाज बाल्टिमोरका निवर्तमान अध्यक्ष निर थापा, नर्थ क्यालिफोर्नियाबाट एकदेब शर्मा, नेब्रास्काबाट कृष्ण कंडेल, ब्राम्टन (क्यानडा)बाट गिरी बुढाथोकी, नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष राम थापा तथा क्यानडाको क्यालगारीबाट रामेश्वर सापकोटा सहभागी हुनुहुनेछ। आवश्यकताअनुसार अन्य सदस्य थपिने संयोजक कुल शर्माले जानकारी दिनुभयो।
कार्यक्रमअनुसार अप्रिल ४ मा अन्तर्राष्ट्रिय बागलुङ समाजको पहिलो अमेरिका स्तरिय क्षेत्रीय भेला सम्पन्न गरिनेछ। सोही दिन साँझ पञ्चेबाजा तथा स्थानीय कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ।
संयोजक शर्माले कार्यक्रम अमेरिका तथा क्यानडाका बाग्लुङ समाजहरूको सहकार्यमा सम्पन्न हुने जानकारी दिनुभयो।
त्यस्तै, अप्रिल ५ आइतबारका दिन बागलुङ समाज अमेरिकाले भौतिक बैठक आयोजना गर्ने अध्यक्ष गौरिश्वर शर्माले बताउनुभयो। सोही दिन नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा नयाँ नेपाली वर्ष तथा चैतेदशैंको अवसरमा पञ्चेबाजा सहित बनभोज तथा अन्य आकर्षक कार्यक्रम राखिने आयोजकले जनाएको छ।












