निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपील

-


     हिडन खबर    
     फागुन १७ गते २०८२ मा प्रकाशित


काठमाडौं, १७ फागुन – नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा आम जनसमुदायलाई सम्बोधन गर्दै भिडियो सन्देश जारी गर्नुभएको छ। उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभएको छ।

सम्बोधनमा उहाँले जनआन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्थाको स्मरण गर्दै अन्तरिम सरकार गठनका लागि गरिएको सहजीकरण र ताजा जनादेशका लागि लिएको अडान उल्लेख गर्नुभयो। देशलाई निर्वाचनसम्म ल्याउन आफ्नो दलले खेलेको महत्वपूर्ण भूमिकाको मूल्याङ्कन इतिहासले गर्ने विश्वास व्यक्त गर्नुभयो।

सरकारको नेतृत्वमा रहँदा सुशासनको सुरुवात, विधिको शासन स्थापित गर्ने प्रयास तथा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको तथ्य प्रस्तुत गर्दै उहाँले त्यसबेला सुशासनबाट आत्तिएका शक्तिहरूले संसदका पहिलो र दोस्रो दललाई एउटै मोर्चामा उभ्याएको आरोप लगाउनुभयो।

प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उहाँले यस निर्वाचनमा जनताले सबै दलको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्ने र नेपाली कम्युनिष्ट पार्टीलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो।

निर्वाचनमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा मतदातालाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व भएको उहाँले बताउनुभयो।