उद्यमी व्यवसायीहरूका लागि उद्यम क्लिनिक

-


     हिडन खबर    
     फागुन ११ गते २०८२ मा प्रकाशित


लेखनाथ, ११ फागुन

लेखनाथ उद्योग वाणिज्य संघमा व्यवसायीहरू तथा उद्यमी बन्न इच्छुक व्यक्तिहरूका लागि उद्यम क्लिनिक सञ्चालन गरिएको छ।

पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा संघको समन्वयमा आइतबार कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसाय सञ्चालनका क्रममा उद्यमी तथा व्यवसायीहरूले सामना गर्ने विभिन्न समस्याको समाधानका लागि क्लिनिकको आयोजना गरिएको बताउँदै आफ्ना समस्याहरू निर्धक्कका साथ प्रस्तुत गर्न आग्रह गरिन्। उनले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने र समग्र व्यावसायिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

त्यस अवसरमा पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले उद्यममा देखिने अवरोध वा ‘रोग’ पहिचान गरी समाधान गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गरिएको जानकारी दिए। उनले यसअघि पनि केन्द्रले यस्तै प्रकृतिका गतिविधि गर्दै आएको भए पनि निजी क्षेत्रसँग अझ घनिष्ठ सहकार्य बढाउन यो क्लिनिक सुरु गरिएको बताए।

सो अभियानमा सहकार्य गरेको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले व्यवसाय प्रवर्द्धन केन्द्रले प्रवाह गर्ने सेवाबारे जानकारी प्रस्तुत गरेका थिए।