
लेखनाथ, १० फागुन — लेखनाथ उद्योग वाणिज्य संघमा तीन महिने सिलाइ–कटाइ तालिम आइतबारदेखि सुरु भएको छ।
यो तालिम सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको हो।
उद्घाटन समारोहमा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीलाई सफल बनाउन र नयाँ उद्यमी उत्पादन गर्ने विषयमा संघ सधैं चिन्तनशील रहेको उल्लेख गर्दै, तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्दै स्वरोजगार बन्न आग्रह गरिन्।
व्यवसायिक सीप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदीले तालिमपछि व्यवसायमा लाग्नुपर्ने कुरामा केन्द्रले निरन्तर जोड दिँदै आएको बताए। उनले सीप सिकेर स्वरोजगार बन्ने प्रयासले सहभागीलाई प्रेरणा दिने विश्वास व्यक्त गरे। साथै, स्थानीय आवश्यकताअनुसार माग भएमा तालिम ल्याउने प्रतिबद्धता पनि जनाए।
संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्यमी बन्ने आकांक्षाका साथ तालिममा सहभागी भएकालाई शुभकामना व्यक्त गरे।
तालिमकी प्रशिक्षक ममता बस्यालले नियमित सहभागिता, ध्यान र मेहनतमार्फत भविष्यमा व्यवसायी बन्ने सोचलाई व्यवहारमा उतार्न आग्रह गरिन्।
५० भन्दा बढीले आवेदन दिएकोमा २१ जनालाई छनोट गरी तालिम सञ्चालन गरिएको हो। उद्घाटन कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए।









