निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न आयोगको आग्रह

-


     हिड्न खबरदाता     
     फागुन १० गते २०८२ मा प्रकाशित


काठमाडौं। निर्वाचन आयोग, नेपालले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सहभागी केही राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप (धातु, काठ वा अन्य सामग्रीबाट बनाइएका चिन्ह) प्रयोग गरेको भन्ने सूचना तथा गुनासा प्राप्त भएको जनाएको छ। यस्तो गतिविधिले जनमानसको शान्ति र सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आयोगको ठहर छ।

विज्ञप्तिमा कपडा, तुल, फ्लेक्स वा कागजमा छापेर वा प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार निर्वाचन चिन्ह प्रयोग गर्न सकिने भए पनि काठ, धातु वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका चिन्ह प्रयोग गरी प्रचारप्रसार नगर्न निर्देशन दिइएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) अनुसार निर्वाचनका लागि दल तथा उम्मेदवारलाई वितरण गरिने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्ने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ४३ को उपदफा (१) बमोजिम दल र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने स्पष्ट पारेको छ।

त्यस्तै, निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (ढ) मा दलको झण्डा र चुनाव चिन्ह तोकिएको मापदण्डबमोजिम प्रयोग गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै आयोगले सो विपरीत गतिविधि नगर्न आग्रह गरेको छ।

आयोगले आचारसंहिता प्रतिकूल हुने गरी कुनै पनि प्रकारका भौतिक स्वरूपका निर्वाचन चिन्ह प्रयोग नगर्न तथा तोकिएको मापदण्डअनुसार मात्र प्रचारप्रसार गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।