एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

-


     हिडन खबर    
     फागुन १० गते २०८२ मा प्रकाशित


काठमाडौं, १० फागुन – किर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन तथा वडा नं. ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता बामदेव गौतमलगायत नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो।

पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी विभिन्न कम्युनिष्ट शक्तिहरूको एकताबाट बनेको उल्लेख गर्दै यस एकता अन्ततः सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राख्नुभयो।

पार्टी प्रवेश गरेका रमेश मर्हजन र नुच्छे मर्हजनले किर्तिपुर–१० मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तारा चिन्हबाट उम्मेदवार बनेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो।

पूर्व मेयर रमेश मर्हजनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभयो।