बागलुङमा ५ थान इजाजतविहीन भरुवा बन्दुक बरामद

-


     हिडन खबर    
     फागुन ८ गते २०८२ मा प्रकाशित


बागलुङ, फागुन ८

जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष अपरेशनमार्फत ५ थान इजाजतविहीन भरुवा बन्दुक बरामद गरेको छ।

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अवैध हातहतियारको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गरी प्रहरीले जिल्लाभर विशेष निगरानी र खोजतलास अभियान सञ्चालन गरेको थियो।

सोही क्रममा स्थानीय नागरिकको सूचना तथा सहयोगमा जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी बसन्त पाण्डेले बताए ।

प्रहरीका अनुसार काठेखोला गाउँपालिका–३ स्थित धम्जा सायकटेरा क्षेत्रको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा थप ४ थान र बैँसजुन–१ थान गरी जम्मा ५ थान भरुवा बन्दुक फेला पारिएको हो। ती सबै बन्दुक इजाजतपत्रविना राखिएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

यसअघि पनि जिल्लाका विभिन्न स्थानका जंगल, खोँच, घरगोठ तथा सुनसान क्षेत्रबाट अवैध हातहतियार बरामद गरिएको र अभियानलाई निरन्तरता दिइने प्रहरीले उल्लेख गरेको छ।

बरामद गरिएका बन्दुकहरू आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।