निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न महासंघको आग्रह

-


     हिडन खबर    
     फागुन ५ गते २०८२ मा प्रकाशित


काठमाडौं, २०८२ फागुन ५ – नेपाल पत्रकार महासंघले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ।

महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्वाचनका बेला मिथ्या सूचना र भ्रामक प्रचारमार्फत मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारहरूले जिम्मेवार र नैतिक पत्रकारिता गर्नुपर्ने उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।”

महासंघले केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबमार्फत समाचार प्रवाह गर्दा आचारसंहिताको पालना नगरेको गुनासो आएको भन्दै त्यसप्रति गम्भीर चासो व्यक्त गरेको छ। सेतोपाटी अनलाइनले चितवन क्षेत्र नम्बर ३ को निर्वाचन परिणामको आँकलन गरेको समाचारबारे आएका टिप्पणीहरूलाई पनि महासंघले ध्यानाकर्षण गराएको छ।

साथै, महासंघले सेतोपाटीका प्रधान सम्पादक अमित ढकालमाथि सामाजिक सञ्जालमा गरिएको ट्रोलप्रति आपत्ति जनाउँदै असहमत पक्षले कानूनी विधिअनुसार समाधान खोज्न सक्ने उल्लेख गरेको छ।

महासंघले भविष्यमा यस्ता घटनाहरू नदोहोरिन सम्बन्धित पक्षलाई सचेत गराउँदै सम्पूर्ण सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सामग्री प्रकाशन तथा प्रसारण गर्न आह्वान गरेको छ।