रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिबद्धतासम्म

-


     हिडन खबर    
     फागुन ४ गते २०८२ मा प्रकाशित


रुकुमपूर्व, ४ फागुन

हिमाली हावा चलिरहेको पातीहाल्ना सीमामा जब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे, त्यहाँ हिउँको सेतो थुप्रोले उहाँलाई स्वागत गर्‍यो।

२९ फागुनमा रुकुमपूर्व प्रवेश गरेका प्रचण्डले हिउँमा रमाउँदै खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चित बने। यो केवल रमाइलो भ्रमण थिएन, प्रधानमन्त्री हुँदा अघि सारेको मध्यपहाडी लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा नयाँ सपना बोकेर फर्किएको भावुक क्षण थियो।

सात दिनको मतदाता भेटघाट कार्यक्रमअन्तर्गत प्रचण्डका चार दिन (८४ घण्टा) औपचारिकभन्दा बढी अनौपचारिक र भावनात्मक देखिए।

जनयुद्धका ऐतिहासिक स्थलहरूको स्मरण, सहिद परिवारसँग भेट, घाइते योद्धाको सम्मान र स्थानीय गुनासा सुन्दै विकासको प्रतिबद्धता व्यक्त गर्नु उहाँको दिनचर्या रह्यो। रुकुमपूर्वमा प्रचण्डको उम्मेदवारीले मतदाता र कार्यकर्तामा नयाँ उत्साह जगाएको छ।

गाउँका चुल्हो, हिउँका थुप्रा, तातोपानीका कुण्डमा भएका संवाद र सहिद गेटमा गाइएका गीतहरूले चुनावी अभियानलाई जिवन्त बनाएका छन्।

पहिलो दिन : हिउँदेखि भूमेमा न्यानो स्वागत
बागलुङ–रुकुम सिमानामा नेता–कार्यकर्ताले उत्साहपूर्ण स्वागत गरे।

हिउँले सेताम्य डाँडामा पाइला टेकेपछि प्रचण्ड केहीबेर रमाए। सामाजिक सञ्जालमा हिउँ खेल्दै गरेको दृश्य छिट्टै चर्चामा आयो। त्यसपछि भूमे १ लुकुम पुग्दा स्थानीयले मगर संस्कृतिअनुसार फेटा गुंथेर भव्य स्वागत गरे।

एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई पार्टीमा भित्र्याउँदै लुकुमलाई नमूना गाउँ बनाउने घोषणा गरे। टेलिफोन समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन दिँदै उहाँ खाबाङबगर पुगे। कार्यकर्ता र स्थानीयसँग आगो ताप्दै गफ गर्दै जनताको घरमा साँझको बास बस्नुभयो।

जनयुद्ध दिवसको स्मृति : लाबाङ–महतमा इतिहाससँग पुनर्मिलन

३०औं जनयुद्ध दिवसमा प्रचण्ड लाबाङ पुगे। त्यही गाउँ जहाँ २०६१ मा पोलिटब्यूरो बैठक बसेर डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो। स्थानीयले भुटेको मकै र परिकार खुवाए। पुराना घर र बैठक स्थल अवलोकन गर्दै प्रचण्डले परिवर्तनमा खुसी व्यक्त गर्दै अझै गर्न बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए।

महतमा युद्ध स्मृति पार्क अवलोकन गर्दै पहिलो युद्धबन्दी साटफेरको स्मरण गरे। स्थानीयले गाजाबाजासहित स्वागत गर्दै समस्या सुनाए। खाबाङबगरमा आयोजित कार्यक्रममा सहिद, बेपत्ता परिवार र घाइते योद्धालाई सम्मान गरे। साँझ चुनबाङमा पैसेरु नाच र झाँकीसहित रातो अबिरले स्वागत गरियो।

चुनबाङको शान्ति ढोका र तकसेराको सौन्दर्य
२ फागुन बिहान चुनबाङको भेरीडाँडामा युद्ध संग्रहालय र ऐतिहासिक बैठक स्थल अवलोकन गरे। यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गर्दै शान्ति प्रक्रियाको ढोका खोलेको थियो। सहिद गेटमा जनवादी कलाकारसँगै गीत गाउँदै प्रचण्डले रुकुमपूर्वले नयाँ ऊर्जा दिएको बताए। साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरामा भव्य स्वागत भयो। सडक पूर्वाधार, भाषा र संस्कृतिको संरक्षणमा प्रतिबद्धता जनाउँदै त्यहाँ बास बस्नुभयो।

चौथो दिन : मर्निङ वाकदेखि मैकोटको समाजवाद सपना
३ फागुन बिहान तकसेरामा मर्निङ वाक गर्दै दलित समुदायको घरमा आगो तापे। स्थानीय युवाले जातीय छुवाछूत अन्त्य भएको भन्दै प्रचण्डलाई धन्यवाद दिए। विभिन्न गाउँमा स्वागत, संवाद र समस्या सुन्दै उहाँले तामाखानी–फलामखानीको सम्भावनाबारे छलफल गरे। डिम्बुरगैरा तातोपानीमा स्थानीयसँगै ढिँडो र हिमाली चामलको भात खाँदै संस्कृति र जीवनशैलीको प्रशंसा गरे।

साँझ मैकोट पुग्दा भव्य स्वागत भयो। प्रधानमन्त्री हुँदा हेलिकप्टरबाट आएका प्रचण्ड यसपटक कठिन बाटो हिंडेर पुगे। सम्बोधनमा उनले भने, “क्रान्तिको किल्ला रुकुमपूर्व अब विकासको नयाँ मोडेल बन्नेछ। समुदायमा आधारित समाजवाद यहीँबाट सुरु हुन्छ।”

निष्कर्ष

यी ८४ घण्टामा प्रचण्डले सहिद परिवारलाई सम्मान गरे, ऐतिहासिक स्थल अवलोकन गर्दै विकासको वाचा गरे, तातोपानीमा जनतासँगै भोजन गरे, दलित घरमा आगो तापे। समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी, सुनिता बुढा र अन्य नेतासहितको यात्रा चुनावी अभियान मात्र नभई इतिहासको पुनर्स्मरण र विकासको वाचा जोडिएको राजनीतिक पुनर्संवाद बन्यो।

रुकुमपूर्वमा बाँकी कार्यक्रम अझै जारी छ। तर चार दिनको ८४ घण्टाले यो केवल मत माग्ने अभियान नभई, क्रान्तिको स्मृति बोकेको जिल्लामा भावनात्मक पुनर्मिलन बनेको छ। अब प्रचण्डले भनेजस्तै रुकुमपूर्व विकास र सामुदायिक समाजवादको प्रयोगशाला बन्नेछ कि बन्दैन, समयले देखाउनेछ।