
रुकुम, ३ फागुन
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समुदायमा आधारित मौलिक समाजवाद निर्माण हुने बताएका छन्।
चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आज पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित सभामा उहाँले चीन र भियतनामको मोडल अध्ययन गरेर शिक्षा लिन सकिने भए पनि नेपालको समाजवाद नेपाली समुदायमै आधारित हुने स्पष्ट पार्नुभयो।
प्रचण्डले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै भन्नुभयो, “नेपालको समुदायमा आधारित समाजवाद निर्माणको आधार यही क्षेत्र बन्नेछ।”
युवापुस्ताको चाहना र नेतृत्व उहाँले पछिल्लो समय जेन्जी पुस्ताबाट देशको सही नेतृत्व गर्न आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आएको उल्लेख गर्दै भन्नुभयो, “जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भनेका छन्। यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, जनताको चाहना बुझ्नुपर्छ भन्ने हो।”
पूर्वाधार र विकासको दृष्टि मैकोटसम्म गाडीमार्ग पुगेकोमा गौरव व्यक्त गर्दै उहाँले जनयुद्धकालमै प्रस्ताव गरिएको सहिद मार्गको अवधारणा स्मरण गर्नुभयो। चीनसम्म कालोपत्रे सडक विस्तार गर्ने परिकल्पना दोहोर्याउँदै उहाँले रमणीय मैकोटसम्म सहज र चिल्लो सडक निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो। साथै, प्रधानमन्त्री हुँदा सुरु गरिएको मध्यपहाडी राजमार्गलाई अझ स्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
महिला सशक्तीकरण र पर्यटन महिला सशक्तीकरणको विषयमा उहाँले मगर तथा जनजाति समुदायमा महिलाको सहभागिता तुलनात्मक रूपमा सशक्त रहेको उल्लेख गर्दै सीप र दक्षता अभिवृद्धि गरी उद्यमशील र आत्मनिर्भर बनाउन योजना अघि सारे। रुकुम पूर्वलाई पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने प्रतिवद्धता पनि जनाउनुभयो।
चुनावी अभियान र जनताको अपेक्षा विरोधीहरूले चुनाव जित्न मात्र रुकुम आएको आरोप लगाएको उल्लेख गर्दै उहाँले १२ जिल्लाबाट एकल सिफारिस आएको र अन्ततः रुकुम पूर्व रोजिएको जानकारी दिनुभयो। “हिजोको आधार इलाका रुकुम–रोल्पा थियो, पहिले रोल्पाबाट सुरु गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरु हुन्छ,” उहाँले भन्नुभयो।
नमूना जिल्ला बनाउने लक्ष्य स्थानीयवासीले भव्य स्वागत गरेका कार्यक्रममा प्रचण्डले रुकुमलाई “क्रान्तिको किल्लाबाट विकासको किल्ला” बनाउने प्रतिबद्धता व्यक्त गर्दै नमूना जिल्ला बनाउने लक्ष्य प्रस्तुत गर्नुभयो।












