
रुकुम पूर्व । फागुन ३
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गर्नुभयो।
जनतासँगको भेटमा उहाँले विगतको जनयुद्धका संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताउनुभयो। उहाँले भन्नुभयो, “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यसपटक विकासका लागि उम्मेदवार बनेर आएको छु। तपाईँहरूले मत दिएर विजयी गराउनुहोला।”
प्रचण्डले स्वाधीन र समृद्ध नेपाल निर्माणलाई पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन अपरिहार्य हुने धारणा व्यक्त गर्नुभयो। उहाँले थप भन्नुभयो, “म स्वाधीन र समृद्ध नेपाल निर्माणको भिजनसहित आफ्नो आधारभूमिका जनतामाझ नयाँ ऊर्जा लिन आएको हुँ।”
कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले संयोजक प्रचण्डलाई स्वागत गर्दै आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए।














