खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने

-


     हिडन खबर    
     फागुन २ गते २०८२ मा प्रकाशित


रुकुम पूर्व, २ फागुन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुगेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्ड मतदाता भेटघाटका क्रममा तकसेरा आइपुगेका हुन्।

तकसेरामा प्रचण्डलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। महिला दिदीबहिनीहरू आफ्ना बालबच्चा बोकेर नाचगानमा सहभागी भएका थिए। स्वागतपछि संक्षिप्त सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भएको उल्लेख गरे।

उहाँले रुकुमबाट समाजवादी मोडेलको सुरुआत हुने बताउँदै, यही स्थानबाट क्रान्ति र शान्ति यात्राको निर्णय भएको स्मरण गरे। संविधानमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गर्न आफ्नो पहल रहेको उल्लेख गर्दै प्रचण्डले संविधानको मर्मअनुसार मगर क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे।

संयोजक प्रचण्डले ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने योजना सार्वजनिक गर्दै यसबाट मगर सभ्यताको संरक्षणसँगै चौतर्फी विकास हुने विश्वास व्यक्त गरे।