
आगामी स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिकामा चुनावी तालमेल गरेका दुई दलले आइतबार घोषणा पत्र सार्वजनिक गरेका छन् ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगरपालिकामा संयुक्त घोषणा पत्र जारी गर्दै व्यवस्थित बस्ती र शहरी विकासको विशेष योजना ल्याउने जनाएका छन् । खाली हुँदै गएका गाउँहरुको व्यवस्थापन र बढ्दो सहरीकरणको दिगो विकास लक्ष्यसहित विशेष योजना ल्याउन लागेका हुन् ।
दिगो विकासको लागि ठूला पूर्वाधारमा जोड दिने प्रतिबद्धता जनाएका दलहरुले नगरको आधुनिक भवन निर्माण, आगामी दुई वर्ष भित्रमा पक्कि सडक नपुगेका वडाहरुमा पक्कि सडक निर्माण गर्ने, टोलहरु जोड्ने सडकको स्तरोन्नती, नगर सडक सञ्जालको स्तरोन्नती, बालउद्यान
निर्माण, व्यवस्थित पार्किङ, ढोडेनीमा मितेरी पुल र बस्तिमा पुग्ने गोरेटो बाटो निर्माण गर्ने जनाएका छन् ।
औद्योगिक क्षेत्रको विकास, बलेवामा नयाँ शहरीकरणको विकास, काठेखोलामा जलविहार, बागलुङ बजारमा जेष्ठ नागरिक केन्द्र स्थपाना लगायतका योजना प्रतिबद्धतमा समेटिएको छ । नगरमा जनमैत्री स्वास्थ्य नीति अबलम्वन गर्ने, सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माण, गरिव विपन्न र सिमान्तकृत समुदायका लागि निशुल्क स्वास्थ्य सेवा, धौलागिरी अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नती गर्ने, मुटु, मृगौला, क्यान्सर र पाठेघरका रोगीहरुको उपचार नगरबाटै गर्ने लगायतका स्वास्थ्य क्षेत्रका योजना प्रतिबद्धतामा समेटिएको नगर प्रमुखका उमेद्वार जनकराज पौडेलले बताए ।
५० वर्ष नाघेका नागरिकहरुलाई वर्षमा एक पटक निशुल्क स्वास्थ्य परीक्षण, नगर खानेपानी बोर्डको गठन, फोहोर व्यवस्थापनमा प्रबिधिको प्रयोग गरेर प्रशोधन, घरदैलोमा स्वास्थ्य सेवा लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
आगामी पाँच वर्षमा प्राविधिक धारतर्फको क्याम्पस स्थापनाको बिशेष तयारी गरिने उल्लेख छ । सामुदायीक विद्यालयको शिक्षाको सुधार, विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने, हरेक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, धौलागिरी बहुमुखी क्याम्पसलाई सुविधा सम्पन्न बनाउने, स्थानीय रोजगारीलाई प्रबर्धन गर्ने र सामुदायीक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
हरेक वडामा तीन÷तीन वटा खेलमैदान निर्माण गर्ने, आधुनिक खुल्ला व्यायमशाला, बहुउद्देश्यीय कवर्डहल निर्माण, ‘एक घर एक रोजगार, एक वडा तीन उत्पादन’ कार्यक्रम सञ्चालन, प्रत्यक विद्यालयमा नर्सिङ शिक्षक र खेलमैदान गर्ने योजना एमाले राप्रपाले सार्वजनिक गरेका छन् ।
पर्यटनमा प्राकृतिक पुष्प कुञ्ज, कृषिमा हरियाली क्षेत्र र सुख्खा क्षेत्रको पहिचान गरी पशुपालन, फलफुल, तरकारी, अन्नबाली तथा जोड दिने, माटो अनुसारका पकेट क्षेत्र विस्तार, कृषि समुह र सहकारी आबद्ध किसानका लागि विषेश आर्थिक प्याकेज, अर्गानिक उत्पादनमा जोड लगायतका कार्यक्रम समावेश छन् ।
नगरको सेवा प्रवाहमा सुशाशन, हरेक वडामा इन्टरनेट, सूचना तथा सञ्चार डेस्क स्थापना, ‘अन्याय र उत्पीडनविरुद्ध हाम्रो अभियान, आवाजबिहिन हरुको आवाज गछौं सम्मान’ लगायनका कार्यक्रम घोषणा पत्रमा समाबेश छन् ।
संयुक्त निर्वाचन परिचालन कमिटिले गरेको कार्यक्रममा नगर प्रमुखका उमेद्वार जनकराज पौडेलले आफ्नो पहिलो कार्यकालमा भएका कामहरुको विवरणसमेत प्रस्तुत गरेका थिए ।
नगर कमिटिका अध्यक्ष धन बहादुर परियारको अध्यक्षता, सचिव रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले स्वागत गरेका थिए ।









