विद्यालय भ्यान दुर्घटना छानबिन गर्न समिति गठन

-


     हिड्न खबरदाता     
     फागुन १ गते २०८२ मा प्रकाशित


बागलुङ । बिहीबार बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ। 

शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालको संयोजकत्वमा बनेको समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर कुँवर, यातायात व्यवस्था कार्यालय बागलुङका मेकानिकल इञ्जिनियर सुरेश जैशवाल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्मा, पीडित पक्षबाट प्रिया किसान र कुशल बोहरा तथा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का तर्फबाट दल थापा सदस्य रहेका छन्। 

समिति गठन गर्ने निर्णय प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले गरेको हो। बैठकमा सहभागीहरूले घाइते बालबालिकाको उपचार, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति, घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कानूनी कारबाही गर्ने सहमति जनाएका छन्।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट किरण तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ र उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य सात जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको उनले बताए। धौलागिरी अस्पतालमा उपचाररत १६ जनाको अवस्था सामान्य रहेको र केहीलाई शुक्रबार साँझ तथा बाँकीलाई शनिबार घर पठाउने तयारी भइरहेको जानकारी दिइयो।

बैठकमा बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले दुर्घटनाको कारण पत्ता लगाई पीडितलाई न्याय दिलाउने गरी समितिलाई अध्ययन गर्न आग्रह गरे। उनले घाइतेको उपचारलाई प्राथमिकता दिँदै उपचारमा कुनै कमी नहुने प्रतिबद्धता जनाए।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पताल प्रशासन, सुरक्षा संयन्त्र र जनप्रतिनिधिको सहयोगमा प्रभावकारी उपचार सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गरे। उनले सामाजिक सञ्जालमा फैलिएका अपूर्ण तथा भ्रमपूर्ण सूचनाका कारण अस्पतालमा अनावश्यक भीड बढ्दा समस्या उत्पन्न भएको बताए।

बैठकमा पीडित पक्षकी प्रिया किसानले घाइतेको तत्कालीन तथा दीर्घकालीन उपचार, दोषीलाई कारबाही, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था तथा मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम र प्रिन्सिपल कृष्ण अधिकारीले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।