स्कुल भ्यान दुर्घटनामा ज्यान गुमाएका छात्रप्रति बागलुङ नगरपालिकाको श्रद्धाञ्जली

-


     हिडन खबर    
     फागुन १ गते २०८२ मा प्रकाशित


बागलुङ, माघ २९ — बागलुङ नगरपालिका–३हाडेपाखामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको निधन भएको घटनाप्रति बागलुङ नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको शोक विज्ञप्ति जारी गरेको छ ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२ माघ २९ गते बिहान करिब ८:३० बजे भएको उक्त दुर्घटनामा परी न्यू एभरेष्ट एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छात्र अमन बोहराको दुःखद निधन भएको हो।

नगरपालिकाले दिवंगत छात्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “देशका भविष्यका कर्णधार, अभिभावकको आशा र भरोसाका केन्द्र विद्यार्थीहरू सवार सवारी दुर्घटना हुनु अत्यन्त दुःखद विषय हो। यस घटनाले सम्पूर्ण नगरवासीलाई स्तब्ध बनाएको छ।” नगरपालिकाले घाइते विद्यार्थी तथा अन्य घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

घाइतेहरूको उपचारमा संलग्न धौलागिरि प्रादेशिक अस्पताल, पर्वत जिल्ला अस्पताल, म्याग्दी जिल्ला अस्पताल, धौलागिरि आयुर्वेद अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मणिपाल शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीप्रति नगरपालिकाले आभार व्यक्त गरेको छ। साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा, सञ्चारकर्मी तथा एम्बुलेन्स सेवा प्रदायक संस्थाहरूको सहयोगप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।

दुर्घटनाको समयमा तत्काल उद्धार कार्य सञ्चालन गरी थप मानवीय क्षति हुनबाट जोगाउन सहयोग गर्ने जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघ–संस्थाको भूमिकाको नगरपालिकाले प्रशंसा गरेको छ। आवश्यक रगत व्यवस्थापनमा सहयोग गर्ने रेडक्रस सोसाइटी तथा स्वयंसेवी रक्तदाताहरूप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।

नगरपालिकाले यस्ता दुःखद घटनाको पुनरावृत्ति नहोस् भन्ने कामनासहित सवारी साधन सञ्चालनमा थप सावधानी अपनाउन र सम्बन्धित सबै पक्ष संवेदनशील बन्न आग्रह गरेको छ। साथै, पीडित परिवारलाई आवश्यक सहयोग र घाइतेहरूको उपचारमा सक्दो साथ दिने प्रतिबद्धता पनि जनाएको छ।