विद्यालय भ्यान दुर्घटनाप्रति शोक व्यक्त, आज बागलुङका निजी विद्यालयमा शोक बिदा

-


     हिड्न खबरदाता     
     फागुन १ गते २०८२ मा प्रकाशित


बागलुङ । बागलुङ नगरपालिका–१, रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीको स्कुल भ्यान दुर्घटनामा एक विद्यार्थीको निधन भएपछि बागलुङका निजी विद्यालयले शोक व्यक्त गर्दै आज शोक बिदा दिएका छन्।

माघ २९ गते दिउँसो करिब ४:३० बजे बागलुङ नगरपालिका–३, हाडेपाखामा विद्यालयबाट विद्यार्थीलाई घर पुर्‍याउने क्रममा भ्यान दुर्घटना भएको थियो। दुर्घटनामा भ्यानमा सवार विद्यार्थी, शिक्षक र चालक घाइते भएका थिए भने एक विद्यार्थी अमन बोहोरा को उपचारका क्रममा निधन भएको जनाइएको छ।

उक्त दुःखद घटनाप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागलुङ, नेशनल प्याब्सन बागलुङ र हिसान बागलुङले संयुक्त रूपमा गहिरो दुःख व्यक्त गरेका छन्। संस्थाहरूले दिवंगत विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

घटनामा घाइते भएका विद्यार्थी, शिक्षक तथा चालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा संलग्न स्वास्थ्यकर्मी र सहयोगीप्रति आभार व्यक्त गरिएको छ। साथै, यस विषम परिस्थितिमा घाइतेहरूको उपचारमा आवश्यक सहयोग गर्न सबै पक्षलाई संयमित र सक्रिय हुन अपिल गरिएको छ।

संयुक्त विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आज फागुन १ गते शोक बिदा दिइएको जानकारी गराइएको छ।