विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना : एक जनाको मृत्यु, छ जना पोखरा रिफर (नामसहित)

-


     हिडन खबर    
     माघ ३० गते २०८२ मा प्रकाशित


बागलुङ । बागलुङ नगरपालिका–३ रात्माटामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा घाइते भएका २६ जनामध्ये अमन बोहोराेको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचाररत घाइतेहरूमा अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमंग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समीक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरबहादुर थापा मगर, आयना बोहोरा र सारिका बोहोरा रहेका छन्।

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल, पोखरा रिफर गरिएको छ। यस्तै सुजल छन्त्याल र संगम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान लोकमार्गबाट रात्माटा जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त भ्यान बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।